काठमाडौँ - मिडफिल्डर केभिन डी ब्रुयनाको उत्कृष्ट फ्रिकिक गोलमा जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ। प्रभावशाली स्ट्राइकर एर्लिङ हाल्यान्ड चोटपछि बाहिर रहँदा शनिबार राति सिटीले लेस्टर सिटीलाई १-० ले पराजित गर्यो।
घरेलु मैदानमा पहिलो हाफमा लेस्टरले बलियो रक्षापंक्ति प्रस्तुत गरेको थियो। दोस्रो हाफमा भने लेस्टर रक्षापंक्तिमा बलियो बनाउन असफल रह्यो। दोस्रो हाफमा ज्याक ग्रेलिसलाई लेस्टरका खेलाडीले लडाएपछि २५ यार्डमा सिटीले फ्रिकिक पायो।
सोही फ्रिकिकलाई बेल्जियन मिडफिल्डर ब्रुयनाले ४९औँ मिनेटमा सदुपयोग गर्दै सिटीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए। प्रिमियर लिगमा ब्रुयनाको यो ६०औँ गोल हो। पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले पछिल्लो चार अवे खेलमा पहिलो गोल गरेको हो। यस साता पूर्वक्लब बोरुसिया डर्टमन्डविरुद्ध खेल्दा नर्वेजियन स्ट्राइकर हाल्यान्डले लिगामेन्टको चोट बोकेका थिए।
यद्यपि, उनको उपस्थितिमा समेत सिटीले ३ अंक हासिल गर्न सफल भयो। खेलको ७७औँ मिनेटमा लेस्टर गोलनजिक पुगेको थियो। योउरी टिएलिम्यान्सले प्रहार गरेको बल बारमा लाग्दै फर्किएपछि लेस्टर बराबर गोल गर्नबाट चुकेको थियो।
जितसँगै सिटीले १२ खेलबाट २९ अंक जोडेको छ। जुन १ खेल कम खेलेको आर्सनलभन्दा १ अंकले बढी हो। पराजित लेस्टर भने १३ खेलबाट ११ अंकसहित १७औँ स्थानमा रहेको छ।