काठमाडौँ - २६ वर्षपछि ‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटले निर्देशक जेम्स क्यामरुनसँग सहकार्य गरेकी छिन्। ‘अवतार’को दोस्रो श्रृंखलाले हलिउडका यी दुई हस्तीलाई सँगै ल्याएको छ।
‘अवतारः द वे अफ वाटर’ पुस १ गते नेपालमा रिलिज हुँदैछ। हलिउड म्यागजिन ‘द अम्पायर’मार्फत निर्माताले केट विन्सलेटको अवतार लुक्स सार्वजनिक गरेका छन्। म्यागजिनले अवतारको विशेष संस्करण समेत प्रकाशन गरेको छ।
उक्त फस्टलुकमा केट तीखा दाँत र ठूला आँखावाली चरित्रमा प्रस्तुत छिन्। ठूलो निधार भएकी उनले कसैप्रति रिसाएर क्रोध व्यक्त गरिरहेको देखिन्छ।
आफ्नो चरित्रबारे म्यागजिनसँग कुरा गर्दै केटले भनेकी छिन्, ‘उनी एक बफादार र निडर कमान्डर हुन्। एक योद्धाजस्तै उनी बलियो छिन्। खतराको बीचमा पनि उनी आफ्ना मानिस र बच्चासँगै हुन्छिन्। आफूलाई प्यारो लाग्ने कुराको लागि उनी लड्छिन्।’