काठमाडौँ - इभान पेरिसिचको दुई गोलप्रेरित इन्टर मिलानले बुधबार राति युभेन्टसलाई ४–२ ले हराउँदै इटालियन कपको उपाधि जितेको छ। यससँगै इन्टरले जारी सिजन दुई कप र लिग गरी तीन उपाधि जित्ने सम्भावना जिवित बनाएको छ।
लिगमा दुई खेल बाँकी हुँदा एसी मिलान ८० अंकका साथ शीर्ष स्थानमा छ। इन्टर मिलानभन्दा दुई अंकले पछाडि छ। मिलानले अब एटलान्टा र सासउलोविरुद्ध खेल्न बाँकी छ भने इन्टरले काग्लिएरी र साम्पडोरियाविरुद्ध खेल्न बाँकी छ। मिलान एक खेलमा रोकिए इन्टरको उपाधि रक्षा गर्ने सम्भावना हुन्छ।
गएराति निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएको थियो। थप ३० मिनेटको समयमा पेरिसिचले दुई गोल गरेपछि इन्टरले उपाधि कब्जा गरेको हो।
त्यसअघि सातौं मिनेटमा निकोलो बरेलाको गोलबाट इन्टरले सातौं मिनेटमा अग्रता लिएको थियो। ५०औं मिनेटमा एलेक्स सान्ड्रोले बराबरी गोल फर्काएका थिए। डुसान भ्लाहोभिचले गरेको गोलबाट युभेन्टसले ५२औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन दश मिनेट बाँकी हुँदा हकन काल्हानोग्लुको पेनाल्टीमा बराबरी गोल फर्काएका थिए।
निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो। थपिएको ३० मिनेट समयको नवौं मिनेटमा इन्टरले अर्को पेनाल्टी पायो। जसलाई पेरिसिचले कुनै गल्ति नगरी गोलमा परिणत गरे। थप समयको १२औं मिनेटमा पेरिसिचले अर्को गोल थपेपछि इन्टर उपाधि उचाल्न सफल भएको थियो।