पाठक र कार्कीलाई योगमाया नारी स्रष्टा सम्मान

काठमाडौँ - नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसर पारेर दुई नारी स्रष्टाहरू हिरण्यकुमारी पाठक र रुकु कार्कीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ। नेपाल प्रज्ञा पतिष्ठानको लेखनाथ सभाकक्षमा बुधबार आयोजित सो कार्यक्रममा गङ्गाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गरेका थिए। 

पाठकलाई २०७८ सालको र कार्कीलाई २०७९ सालको  ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरिएको हो।  यसैगरी सोही कार्यक्रममा स्रष्टा समाजले ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ भोजपुरका अध्यक्ष मोहनकुमार बस्नेतलाई प्रदान गरेको छ। 

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले स्वागत मन्तव्य दिएका थिए। त्यसक्रमा उनले प्राडा. गोविन्दमान सिंह कार्कीद्वारा पुरस्कृत व्यक्तित्वबारे चर्चा गरेका थिए। प्राडा. कार्कीले योगमायाबारे विशेष अध्ययन अनुसन्धान गरेर २०६९ सालमा ‘समाज सुधारक योगमाया’ पुस्तक प्रकाशित गरेका थिए। 

‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’का संस्थापक पवन आलोक र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’का संस्थापक राजेश न्यौपानेले योगमायाले नारी चेतना अभिवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताएका थिए। 

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हिरण्यकुमारी पाठक, रुकु कार्की, मोहनकुमार बस्नेतले पनि मन्तव्य प्रकट गरेका थिए। समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जानू धितालले गरेकी थिइन्। 

उक्त कार्यक्रममा लेखनाथ भण्डारीद्वारा तयार पारिएको जीवनी र मूल्याङ्कन कृति ‘योगमाया’को विमोचनसमेत गरिएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×