उदयपुर । केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ ।
सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरुको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुमारी मगरले बताइन् ।
ह्वात्तै चिसो बढेका कारण नानीहरुमा निमोनिया वा टाइफाइड हुने र चिसोका कारण अन्य असर हुन सक्ने भन्दै अहिले अभिभावकले साना नानीहरुलाई बिद्यालय नपठाएको सोही स्थान निवासी दानबहादुर पुलामी मगरले उल्लेख गरे। यता जिल्लाको तराई क्षेत्रको त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याई, चौदण्डी नगरपालकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेस्वरी भागलपुर र आम्बासी क्षेत्रका विद्यालयमा पनि चिसो बढ्न थालेपछि ५० प्रतिशत मात्र विद्यार्थी दैनिक उपस्थित हुने गरेको र अन्य भने चिसोको कारण घरमानै बस्ने गरेको सप्तकोशी माविका शिक्षिका सुमित्रा पोखरेलले जानकारी दिइन् ।
ह्वात्तै चिसो बढ्न थालेका कारण र अझै कोभिडको डर त्रासका कारण पनि कतिपय अभिभावकले घरमै राख्न थालेको हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ थियो । जिल्लाको सदरमुकाम गाईघाट,बेलका नगरपालिकाको आसपास, चौदण्डी गढी नगरपालिकाको बेल्टार र कटारी बजारका विद्यालयमा भने अहिलेसम्म पनि विद्यार्थी नियमति विद्यालय आइरहेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । जिल्ला सदरमुकामबाहेक पहाडी र अन्य क्षेत्रका विद्यालयका विद्यार्थी पनि चिसोको कारण विद्यालयमा उपस्थिति घटन थालेको बताइएको छ ।