बौद्धनाथ महाचैत्यमा राखियो हावाले नच्यातिने लुङ्दर

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको महाचैत्यमा हावाले नच्यातिने लुङ्दर राखिएको छ । 

बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दाता आएपछि बौद्ध महाचैत्यको लुङ्दर परिवर्तन गर्दै आएको छ। पहिले हावा लाग्दा लुङ्दर च्यातिने गथ्र्यो। लुङ्दर च्यातिएर विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र प्रदूषित भएकाले नच्यातिने गुणस्तरको राख्न थालिएको हो। दाताले लुङ्दर परिवर्तनका लागि गुठीलाई नगद दान दिने गरेका छन्। लामो समयसम्म पनि दाता नआए गुठीकै स्रोतबाट परिवर्तन गर्ने गरिएको व्यवस्थापक अनमोल श्रेष्ठले जानकारी दिए।

महाचैत्यको पेटसम्म रङ्रोगनसहित लुङ्दर परिवर्तन गर्न चाहने दाताका लागि रु ४५ हजार, मण्डलासम्मका लागि रु ९० हजार र माने पर्खालसम्मका लागि रु एक लाख ५० हजार शुल्क तोकिएको छ। उक्त शुल्कमा दाताले अजिमास्थानमा पूजासहित १०८ दीप प्रज्ज्वलन गर्न पाउँछन्। महाचैत्य र चैत्यमा लुङ्दर राखेर आकर्षकरुपमा सजाउने गरिन्छ। लुङ्दरसँगै महाचैत्यको माथिल्लो भागमा घेरिएको कपडा पनि दाताले बेला बेलामा फेर्न सहयोग गर्दै आएका छन्। चैत्यको माथिल्लो भागमा घेरिएको कपडालाई स्वयम्भू भनिन्छ। एक दुई दिनमै नयाँ दाता आएर लुङ्दर परिवर्तन गर्न र स्वयम्भू काठमाडौँ बाहिरका गुम्बामा लैजान विभिन्न जिल्लाबाट लामा आउने गर्छन्। 

लुङ्दर र स्वयम्भू लिन आउने लामाको बौद्ध क्षेत्रमा भीड लाग्ने गर्छ। पालो कुरेर विभिन्न जिल्लामा रहेका गुम्बाका लामाले लुङ्दर र स्वयम्भू लैजाने परम्परा छ। विभिन्न जिल्लाबाट आउने लामा पालो कुरेर बस्ने भएकाले बौद्ध महाचैत्यमा लुङ्दर र स्वयम्भू व्यवस्थापनमा समस्या नरहेको व्यवस्थापक श्रेष्ठले  बताए।

बौद्धनाथ क्षेत्रमा आउने पर्यटकका लागि पहिले माथिको खुड्किलासम्म गएर महाचैत्य घुम्न दिने गरिएकामा कोरोनाको महामारी फैलिएपछि विसं २०७६ चैतदेखि बन्द गरिएको गुठीले जनाएको छ। खुड्किला चढ्न दिने तयारी गरिएकै बेला विश्वभर ओमिक्रोन नामको नयाँ भेरियन्टसहितको कोरोना फैलिन थालेकाले हाललाई केही समय बन्द नै गरिने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×