काठमाडौँ - आईसीसी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि ३ रनको रोमाञ्चक जित निकालेको छ। ब्रिसबनमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले ८ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा जिम्बावेलाई जितका लागि १६ रन आवश्यक थियो। तर जिम्बावेले २ विकेट गुमाएर १२ रन बनायो। त्यसमा पनि अन्तिम बल झनै नाटकीय बन्यो। जिम्बावेलाई अन्तिम बलमा जितका लागि ५ रन आवश्यक थियो। छक्का हान्दा जिम्बावेले खेल जित्ने थियो भने चौकाले खेल सुपर ओभरमा पुग्ने थियो।
तर बंगलादेशका मोसादेक होसेनको बलमा विकेटकिपर नुरुल हुसेनले जिम्बावेका ब्लेसिङ मुजाराबानीलाई सटम्पिङ गरे। त्यसपछि बंगलादेशले जित मनाउन थाल्यो भने जिम्बावे निराश बन्यो।
तर अम्पारले उक्त बल रिभ्यु गर्दा नुरुले स्टम्प अगाडि बल समातेकोले उक्त बल नो बल भयो र मैदान बाहिर गइसकेका दुवै टिमका खेलाडीहरु फेरि मैदान फर्किए। जिम्बावेले अर्को अवसर पायो।
नो बलमा १ रन स्वत पाएको जिम्बावेले जितका लागि त्यो अवसरमा ४ रन बनाउनुपर्ने थियो भने ३ रन जोड्दा खेल सुपर ओभरमा जाने थियो। तर उक्त अवसरलाई मुजाराबानीले सदुपयोग गर्न सकेनन्। मोसादेकले कुनै रन दिएनन् र बंगलादेश ३ रनले विजयी भयो। बंगलादेशले फेरि पनि खुशी मनाउँदा जिम्बावे अवसर सदुपयोग गर्न नसक्दा निराश बन्यो।
जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रन बनाए भने राएन बर्ल २७ रनमा अविजित रहे। बंगलादेशका लागि तस्किन अहमदले ३ तथा मोसादेह होसेन र मुस्तापिजुर रहमानले समान २ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १५० रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नजमुल होसेन सान्तोले सर्वाधिक ७१ रन बनाउँदा अफिफ होसेनले २९ र कप्तान शकिब अल हशनले २३ रन जोडेका थिए। जिम्बावेका लागि रिचर्ड एनगाभारा र ब्लेसिङ मुजाराबानीले २/२ तथा सिकन्दर राजा र सिन विलियम्सले १/१ विकेट लिएका थिए।
सुपर १२ को समूह बी मा दोस्रो जित निकालेको बंगलादेश ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ। भारत समान अंक भए पनि नेट रनरेटमा बंगलादेश पछि रहेको हो। जिम्बावेको भने सुपर १२ म यो पहिलो हार हो। ३ खेलबाट ३ अंक रहेको जिम्बावे चौथो स्थानमा रहेको छ।