काठमाडौँ - स्पेनिस ला लिगाले इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध युरोपियन फुटबलको सर्वोच्च निकाय (यूइएफए) मा उजुरी दर्ता गरेको छ।
‘फाइनान्सियल फेयर प्ले’ को नियम उलंघन गरेको भन्दै ला लिगाले सिटी र पिएसजीविरुद्ध यूइएफएमा उजुरी दर्ता गरेको हो। ला लिगाले विश्व फुटबलमा उनीहरुले कृत्रिम रूपमा बजार बढाउने काम गरिरहेको आरोप लगाएको छ। यसले फुटबलमा विकासको दिगोपनलाई असर गर्ने ला लिगाको भनाइ रहेको छ।
पछिल्लो समय केलियन एमबाप्पे र एर्लिङ हालान्ड अनुबन्धको विषयमा ला लिगा रुष्ट बनेको छ। यी दुवैको अनुबन्धका लागि ला लिगा क्लब रियाल मड्रिड प्रयासरत थियो। तर, अन्तिम समयमा एमबाप्पेले पिएसजीमै बस्ने निर्णय गर्दा हालान्डलाई सिटीले अनुबन्ध गरेको थियो।