काठमाडौँ - सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम चरणको खेल तालिका परिवर्तन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार १३औं चरणको खेलको नयाँ तालिका सार्वजनिक गरेको हो।
नयाँ तालिकाअनुसार ‘बी’ डिभिजन लिगमा उक्लिने प्रवल सम्भावना भएका दुई टोली आरसी ३२ स्पोर्टस क्लब र प्लानिङ ब्वाइज युनाइटेडले एकै समयमा अन्तिम खेल खेल्ने भएका छन्।
जेठ १९ गते आरसी ३२ ले स्पोर्टस् एकेडेमी र प्लानिङ ब्वाइजले ओसिस क्लबविरुद्ध खेल्ने तालिका रहेको छ। खेल मध्यान्ह १२ः३० बजेबाट सुरु हुनेछ।
यद्यपि, अन्तिम खेलको लागि स्थान भने तय भइसकेको छैन। लिगबाट झापा फुटबल क्लब ‘बी’ डिभिजन लिगमा बढुवा भइसकेको छ। तर, बढुवा हुन बाँकी एक टिमका लागि आरसी ३२ र प्लानिङ ब्वाइजबीच चर्को प्रतिस्पर्धा छ।
लिगमा १२ खेल खेल्दा प्लानिङ ब्वाइज र आरसी ३२ ले समान २८ अंक जोडेका छन्। यता, पुछारमा रहेका दुई टिम ओसिस क्लब र वीरगञ्ज युथ एकेडेमी ‘सी’ डिभिजन लिगमा घटुवा भएका छन्।