काठमाडौँ - अर्जुन साउँद, आसिफ शेख र बासिर अहमदले अर्धशतक बनाएपछि नेपालले सोमबार केन्याविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा ६ विकेटको विजय हासिल गरेको छ।
केन्याका नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा घरेलु टोलीका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो। २५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
यससँगै नेपालले ३ खेलको एकदिवसीय शृंखला क्लिनस्विप गरेको छ। नेपालले पहिलो खेल ७ विकेटले जितेको थियो। दोस्रो खेलमा १७ रनको विजय हासिल गरेको थियो। त्यसअघि नेपालले ५ खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला ३-२ ले जितेको थियो।
२५६ रनको लक्ष्य पूरा गर्ने क्रममा अर्जुनले ५८ रन बनाएका थिए। उनले आसिफ शेखसँग ७३ रनको साझेदारी गरेका थिए। प्लेयर अफ दी सिरिज घोषित भएका आसिफले ५६ रन जोडेका थिए। अर्जुनले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे। ज्ञानेन्द्र मल्लले ३३ रन बनाएका थिए।
कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडल ४६ र वसिर अहमद ५२ रनमा अविजित रहे। रोहित र वसिरले पाँचौँ विकेटका लागि ९५ रनको अविजित साझेदारी गरे। देव खनाल १ रन बनाएर पवेलियन फर्किए।
केन्याका भीराज पटेलले २ विकेट लिए भने यस टलाटी र शेम एनगोचेले १/१ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको केन्याका लागि ओबुयाले सबैभन्दा धेरै ८४ रन बनाएका थिए। ओबुयाले १११ बलमा ७ चौका र २ छक्का प्रहार गरे। लुकास ओलुओचले अविजित ५९ रन बनाएका थिए। सुकदीप सिंहले ३७ रन जोडे। इमानुयल बुन्डीले २३ रन बनाए। कप्तान एनगोचेले १७ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका सोमपाल कामी र आदील अन्सारीले समान २ विकेट लिएका थिए। वसिर अहमद र शाहब आलमले १/१ विकेट लिएका थिए।