नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुषतर्फको क्रिकेट भदौ २२ देखि गर्न राखेपलाई क्यानको प्रस्ताव

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुषतर्फको क्रिकेट भदौ २२ देखि गर्ने प्रस्ताव गरेको छ।

नवौं राष्ट्रिय खेलकुद हुने समयमा नेपाल टी-२० लिग आयोजना हुने हुँदा क्यानले राखेपलाई भदौ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुरुषतर्फको क्रिकेट गर्ने प्रस्ताव गरेको हो।

नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ। ‘हामीले भदौ २२ देखि २९ सम्म गर्ने प्रस्ताव राखेका छौं। राखेपले प्रदेशसँग सहमति लिनुपर्छ। त्यसको लागि पत्राचार भइसकेको छ,’ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने।

नेपाल टी-२० लिग असोज ८ देखि कार्तिक ५ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने तय छ।  यद्यपि, क्यानले नेपाल टी-२० लिगका लागि हालसम्म ६ मध्ये ४ फ्रेन्चाइज टोलीको मात्र नाम सार्वजनिक गरेको छ। पोखरा र फार वेस्टर्नको टोलीको स्वामित्वबारे भने क्यानले सार्वजनिक गरेको छैन।

तर, नेपाल टी-२० लिग समयमै हुने मल्लले बताएका छन्। ‘हामी ड्राफ्टदेखि अन्य सबै प्रक्रिया भ्याइसक्छौं। नेपाल टी-२० लिगको ड्राफ्ट नवौं राष्ट्रिय क्रिकेटकै समयमा हुने छ। लिग शतप्रतिशत त्यहीँ समयमा हुन्छ,’ उनले भने।

नेपाल टी-२० लिगमा हरेक टोलीले ११ नेपाली खेलाडी किन्नुपर्नेछ। ड्राफ्ट अन्तर्गत ‘ए’ ग्रेडमा ६, ‘बी’ ग्रेडमा २४ र ‘सी’ ग्रेडमा ३६ खेलाडी हुनेछन्। उनका अनुसार ‘ए’ ग्रेडका खेलाडीले १५ लाख, ‘बी’ ग्रेडका खेलाडीले १० लाख र ‘सी’ ग्रेडका खेलाडीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×