काठमाडौँ - इर्लिङ हालन्डले गरेको दुई गोलमा नर्वेले आइतबार राति यूईएफए नेसन्स लिग ‘बी’मा स्वीडेनलाई २–१ ले हराएको छ।
अर्को सिजनका लागि इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका हालान्डले २०औँ मिनेटमा गरेको पेनाल्टी गोलबाट नर्वेले अग्रता लिएको थियो। स्वीडेनको सोल्नास्थित फ्रेन्डस् एरियनामा हालान्डले ६९औँ मिनेटमा दोस्रो गोल गरेका थिए।
२१ वर्षीय हालान्डले नर्वेबाट १९ खेलमा १८ गोल गरेका छन्। कतार विश्वकपमा हेर्न नपाइने प्रतिभावान् खेलाडीमध्ये हालान्ड पनि एक हुन्। इन्ज्युरी समयमा एन्थोनी एलंगाले गरेको गोल स्वीडेनका लागि सान्त्वना गोल बन्यो।
जितसँगै यूईएफए नेसन्स लिग ‘बी’को समूह–४ मा नर्वे ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। समान तीन अंक जोडेका सर्बिया र स्वीडेन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। अंकविहीन स्लोभेनिया पुछारमा छ।
सर्बियाले गए राति स्लोभेनियालाई ४–१ ले हराएको थियो। नर्वेले यसअघि सर्बियालाई १–० ले हराएको थियो। उक्त खेलमा हालान्डले निर्णायक गोल गरेका थिए। स्वीडेनले अघिल्लो खेलमा स्लोभेनियालाई २–० ले हराएको थियो।