भूगोलका आधारमा फिल्म विभाजित नहुने यशको दाबी

काठमाडौँ - आगामी बैशाश १ गतेबाट रिलिज हुने दक्षिण भारतीय फिल्म 'केजीएफः च्याप्टर २'का कलाकार यशले भूगोलका आधारमा फिल्मलाई विभाजन गर्ने समय सकिएको दाबी गरेका छन्।

विश्वभर नै प्रतीक्षा गरिएको फिल्म 'केजीएफ'को चर्चा अहिले जहिँतहिँ सुन्न सकिन्छ। यसबाट नेपाल समेत अछुतो रहेको छैन। नेपाल र हिन्दीभाषी फिल्म चल्ने भारतीय राज्यमा केजीएफ, आरआरआर र पुष्पाजस्ता फिल्मको दबदबा सुरु भएको भन्दै कतिपयले चासो र चिन्ता समेत लिन थालेका छन्। प्रख्यात बलिउड अभिनेता सलमान खानले आफ्ना फिल्म साउथ इण्डियामा चल्न छाडेको भन्दै चिन्ता व्यक्त गरेका थिए भने नेपाली फिल्म वृत्तमा समेत यसबारे चिन्ता सुरु भएको छ। 'आरआरआर'को सफलताले रिलिज भएकै दुई दिनमा मल्टिप्लेक्सहरुबाट नेपाली फिल्म 'हेल्लो जिन्दगी' उत्रिनुले पनि यस चिन्तालाई अझ बढाएको छ। 

यसका साथै 'केजीएफः च्याप्टर २'सँगै जुध्ने भएको नेपाली फिल्म 'ए मेरो हजुर ४'को हालत पनि त्यस्तै हुनसक्ने सम्भावनालाई पनि नेपाली दर्शक एवं फिल्म निर्माता/निर्देशकहरु नकार्न सक्ने अवस्था छैन।

यसै क्रममा केजीएफ स्टार यशले भूगोलको आधारमा फिल्मलाई विभाजन गर्ने समय समाप्त भइसकेको भन्दै जहाँको भएपनि राम्रा फिल्मलाई दर्शकले मन पराउने दाबी गरेका छन्। मुम्बईमा आयोजित एक पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्। "अब बलिउड र साउथ फिल्मको रेखा मेटिएको छ। दर्शकले सबै फिल्म हेर्छन्, चाहे त्यो दक्षिण, पूर्व र उत्तरकै किन नहोस्। दर्शकले राम्रा फिल्म हेर्छन्, राम्रा फिल्मलाई दर्शकले सेलिब्रेट गर्छन्।" उनले थपे, " मलाई मेरी पत्नीले सोध्ने गर्छिन्, मुम्बई र उत्तर भारतमा जाँदा तपाईंलाई घरजस्तो महसुस हुन्छ त भनेर ? मलाई त्यस्तो केही लाग्दैन। दर्शकले फिल्म हेर्छन् र कमेन्ट गर्छन्। नर्थका कलाकार हामीकहाँ आउँछन्, हामीकहाँका दर्शकले उनीहरुलाई सेलिब्रेसन गर्छन्। हामी एउटै उद्योगमा छौं, त्यो नै महत्वपूर्ण पाटो हो।"

हिन्दी भाषाको वितरक कम्पनीले नेपाललाई चर्को मूल्यमा फिल्मको नेपाल अधिकार प्रस्ताव गरेका कारण नेपालमा केजीएफ रिलिज हुने बताइएपनि आइतबारसम्म कुन वितरकले कति मूल्यमा फिल्म ल्याउने भन्ने टुंगो भने लागिसकेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×