भारत। भारतीय कलाकार अमिताभ दयालको निधन भएको छ। उनको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो। ६१ वर्षीय अमिताभकी पत्नी मृणालिन्नी पाटिलले यो कुराको जानकारी दिएकी हुन्।
मृणालिन्नीले भनिन् "१७ जनवरीमा हृदयघात भएपछि उनलाई मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखियो । उपचारपछि गत शनिबार उनी कोरोना मुक्त भएका थिए । तर आज पुनः उनलाई हृदयघात भएपछि निधन भयो।"
अमिताभले ‘विरुद्ध’, ‘कगार’ ‘धुआ', ‘रंगदारी’, ‘ये दिल्लगी’ लगायतका चलचित्रमा काम गरेका छन्। छत्तीसगढको बिलासपुरमा जन्मिएका कलाकारको अन्तिम संस्कार छत्तीसगढका पारिवारिक सदस्य आएपछी गरिनेछ।
उनले सन् २००० मा मराठी निर्देशक मृणालिन्नीसँग विवाह गरेका थिए। तर, उनी विवाहको नौ वर्षपछि छुट्टिएका थिए। जोडीको दुई सन्तान शिवम पाटिल र अमृता पाटिल रहेका छन्।