फ्रान्सेली विंगर फ्रान्क रिबेरीद्वारा सन्न्यास घोषणा

काठमाडौँ - फ्रान्सेली विंगर फ्रान्क रिबेरीले व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका छन्। पछिल्लो समय चोटका कारण मैदान फर्कन संघर्ष गरिरहेका रिबेरीले ट्वीटरमा लेख्दै आफ्नो सन्न्यास घोषणा गरेका हुन्।

३९ वर्षीय विंगर इटालीको शीर्ष डिभिजन क्लब सालेरनितनामा अनुबन्धित थिए। घुँडाको चोटका कारण खेल्न नसकेपछि उनले क्लबसँग सम्झौता रद्द गर्दै सन्न्यास घोषणा गरेका हुन्। सन् २००७ देखि २०१९ सम्म बायर्न म्युनिखबाट खेलेका रिबेरीले क्लबका लागि ९ लिग उपाधि र १ च्याम्पियन्स लिग जितेका थिए।

बायर्नका लागि ४ सय २५ खेल खेलेका उनले १ सय २४ गोल र १ सय ८२ असिस्ट दिएका थिए। गत सिजन सालेरनिताना पुगेका उनले त्यसअघि २ सिजन इटालीकै फिओरेन्टिनाबाट खेलेका थिए। सिजनको पहिलो खेलमा रोमाविरुद्ध खेलेका उनले त्यसयता मैदान टेकेका छैनन्।

सन् २००७ मा बायर्नले रिबेरीलाई मार्सेबाट १७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। ३ पटक फ्रान्सका उत्कृष्ट खेलाडी बनेका रिबेरीले राष्ट्रिय टोलीका लागि ८१ खेल खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×