काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निवेदनमा ढकालले आफूलाई कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको दाबी गरेका छन् ।
आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्तलाई पत्र पठाउँदै ढकालले रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएको खण्डमा त्यसलाई कार्यान्वयन नगर्न दबाब समेत दिएका छन् ।
पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।
२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय समिति सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । ‘यद्यपि, मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन’, निर्वाचन आयोगमा दिएको निवेदनमा उनले भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लािग त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु ।’
पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।