काठमाडौँ - विकेटकिपर तथा ब्याट्सम्यान सुवास खकुरेललाई आइसिसी विश्वकप लिग २ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बोलाइएको छ। पहिलो रोजाइका ओपनर आसिफ सेख र कुशल भुर्तेल घाइते भएपछि सुवासलाई टोलीमा बोलाइएको हो।
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आयोजक अमेरिकासहित ओमानसँग प्रतिस्पर्धा गर्दै छ। नेपाली टोली अहिले अमेरिकामै छ। नेपाल क्रिकेट संघ (क्यान)ले २६ जेठमा ओमानविरुद्धको पहिलो खेलमा आसिफ र कुशलको खेल्ने सम्भावना कम रहेको जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार ओपनर आसिफ र कुशलको खुट्टामा चाेट लागेकाे जानकारी दिएकाे हाे। घाइते भएपछि दुवैले कम्तिमा पनि सिरिजकाे पहिलो खेल गुमाउने भएका छन्।
यी दुवै खेलाडीको स्थानमा सुवासलाई बोलाएको हो। अमेरिकामा हुने त्रिकोणात्मक शृंखलाका लागि राखिएको बन्द प्रशिक्षणमा सुवासले राम्रो प्रदर्शन गरेका थिए।
बन्द प्रशिक्षणमा ब्याटिङ र किपरमा राम्रो प्रदर्शन गरेका कारण नै सुवासलाई टोलीमा समावेश गरेको क्यानले जनाएको छ। नेपालका अनुभवी विकेट किपर ब्याट्सम्यान सुवासले अन्तर्राष्ट्रिय करिअरमा पाँच एकदिवसीय खेल खेलेका छन्।
उनले पाँच एकदिवसीय खेलमा ९४ रन बनाएका छन्। यस क्रममा उनले एक अर्धशतकीय इनिङ्स पनि खेलेका थिए। यसैगरी, आठ अन्तर्राष्ट्रिय टी–२० खेलमा सुवासले एक सय १२ रन बनाएका छन्। उनले टी–२० खेलमा पनि एक अर्धशतक बनाएका थिए। सुवासले १३ लिस्ट एमा दुई सय २० रन जोडेका छन्। यस फम्र्याटमा उनले दुई अर्धशतक बनाएका छन्।