काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड १९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको हो ।
अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीवार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल फिर्त लिन माग गरेका छन् ।
आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीनतीन रुपैयाँका दरले, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको थियो ।
अखिल क्रान्त्रिकारीले जारी गरेकाे विज्ञप्तिमा मूल्य वृद्धि गर्ने निगमकाे निर्णयकाे घाेर निन्दा समेत गरेकाे छ ।
‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड १९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ ।' विज्ञप्तिमा भनिएकाे छ, 'उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ, जसले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ, जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं ।'