‘दुलही’मा प्रकृतिका विविधताको चित्रण

                    “लामा काला तमसरि सबै केश फोई गुजुल्टो
                    कोरीबाटी सजधज गरी बाटियो आज चुल्ठो ।
                    इन्द्रेनीका रङ्मय लुगा फूलको दिव्य घुम्टी
                    ओढी बस्छिन् प्रकृति–दुलही आउँदासम्म जन्ती ।।”

युवा कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’ को प्रकृति दुलही शीर्षकको कविताको प्रस्तुत पङ्क्तिले दुलही जस्तै सिँगारिएर बसेको प्रकृतिलाई चित्रण गरेको छ। प्रकृतिका यिनै विविधतालाई विभिन्न शीर्षक दिएर रचिएका कवि पाण्डेयको दुलही यतिखेर बजारमा आएको छ।
    
मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतमा प्राध्यापनरत पाण्डेयको यस कृतिमा विभिन्न ६४ शीर्षकका कविता रहेका छन्। प्रकृतिको सौन्दर्यताको चर्चा गर्दै प्रकृति दुलही कविताकै अर्को पङ्क्तिमा कवि भन्छन्। 
            
            “आफैँ खोजी मणि सुन हिरा रत्न धाई खजाना
            लाएकी छिन् सुन टप टिपी दिव्य ऐँसेलु दाना ।
            लाली रातो जब अधरमा पोत्छ लालीगुराँस
            बन्छिन् बेग्लै प्रकृतितनया लाग्छ सौन्दर्य खास ।।”
    
सम्पादन हाउस प्रालिले प्रकाशन गरेको यस कविता सङ्ग्रह ८१ पृष्ठमा समेटिएको छ। प्रकृतिका विभिन्न लीलाको चर्चाका साथै ऋतु विशेष आदिका विशेषतालाई कवितामा समेटेका पाण्डेयले वर्षको पहिलो महिना वैशाखको महिमा उल्लेख गर्दै वैशाख शीर्षकको कविताको पहिलो पङ्क्तिमा भन्छन्।
    
            “आयो यो नव वर्ष जोश भरियो साह्रै रमायो मन
            हुन्छन् यी वन फाँट, शैल हरिया पाई नयाँ जीवन ।
            बन्छन् सार्थक शब्द मानव गला, सङ्गीतको स्पर्शले
            छाला, कान र नेत्र, नाक भरिए सौन्दर्य उत्कर्षले ।।”
    

वर्षको अन्तिम महिना चैतलाई कवितामा उतार्दै चैतस्पर्श शीर्षकको कवितामा कविले वसन्तको आगमनसँगै रुखमा पलाएका पालुवा, आँपका फूल आदिले निम्त्याएको सौन्दर्यताको मुक्त कण्ठले प्रशंसा गरेका छन्।     
                “नवीन वृक्षका लुगा भए सबै ‘परी–सरि’
                सुवास फैलियो मीठो फुलेर आम्रमञ्जरी ।
                भिरेर पातका लुगा सलज्ज चैत पाहुना
                सजाइए, सिँगारिए समस्त कन्दरा कुना ।।”
    
 कविता सङ्ग्रहमा वैशाख, चैतस्पर्शसहित ऋतु तथा महिनाको महिमागान गरिएका वसन्त महिमा, हेमन्तागमन, नव वर्ष, शारदी सौन्दर्य आदि कविता रहेका छन्। स्थान विशेषलाई रचनामा समेटिएको दुलहीमा इलामेली परी, अन्नपूर्णा, भूस्वर्गकी अप्सरा आदि शीर्षकका कविता छन्। इलामको सौन्दर्यताले आफूलाई लोभ्याएको उल्लेख गर्दै कविले इलामेली परी शीर्षकको कवितामा भनेका छन्। 
            
            “छोरीतुल्य इलामकी सुनयनी कन्याम, माई, पुवा
            यस्तो हुन्छ प्रतीत भूमि सब यो सौन्दर्यको हो कुवा ।
            पाखा पर्वतका बगान हँसिला घुम्तीहरू मोहक
            देखी मोहित हुन्छ सुन्दर छटा आएर अभ्यागत ।।”

इलामको सौन्दर्यलाई आँखाले तस्विर खिची आफ्नो जन्मस्थान बैतडी लैजाने भन्दै, 
            “घुम्टोभित्र लुकी थुपार्छ जसले सौन्दर्य संसाधन
            लज्जायुक्त इलाम बन्छ दुलही लाएर आभूषण ।
            पाँचै इन्द्रियबाट मादकपना खिच्नेछु केही अडी
            आँखाबाट खिचिक्क तस्विर खिची लैजाउँदा बैतडी ।।” भनेका छन्।
    
 प्रत्येकलाई कर्तव्य पथमा उभ्याउनका लागि आमा बुबाले गर्ने मायाममता आदिको चर्चा गर्दै कविता सङ्ग्रहमा सन्तान सामीप्य, आमाको मन, सन्तति, आमाविनाको घर, मातृमहिमा, मातृत्व, बाबाको महिमा, धन्य जननी आदि शीर्षकका कविता राखिएको छ। आमा नहुँदा घर पनि रित्तो लाग्ने भावना व्यक्त गर्दै आमाको मन शीर्षकको कवितामा कवि भन्छन्,

            “रित्तो लाग्ने घर पनि निकै मात्र आमा नआए
            राख्छिन् चासो हरपल मुमा भात खाए नखाए ।
            राजा ठान्छिन् निज शिशु सधैँ हुन्छ वात्सल्य चोखो
            भोकै बस्लिन् विवश जननी हुन्न सन्तान भोको ।।”

त्यस्तै आमाविनाको घर शीर्षकको अर्को कवितामा कविले भनेका छन्,
            “जन्मी बाँच्न सिके जुधे प्रकृतिको यो घामपानी सहे
            आमाको अवसानबाट निजका सन्तान एक्ला भए ।
            देख्दा हालत दीनहीन यिनको चस्किन्छ छाती तर
            न्यास्रो, शून्य, मसानतुल्य छ कठै १ आमाविनाको घर ।।”

सन्तानलाई कर्तव्य पथमा लम्काउनका लागि आफ्ना खुसी बिर्सिएर मेसिनजस्ता बनेका बाबाको चर्चा गर्दै बाबाको महिमा शीर्षकको कवितामा कवि लेख्छन्,

            “जन्मायाँै, गुरु, मार्गदर्शक बन्यौँ बाबा सहारा दिई
            हाम्रा निम्ति सदैव मेसिन बन्यौ हाँसो खुसी बिर्सिई ।
            केही प्राप्त भए मिठो र मसिनो ल्याई दिने आखिर
            ‘बाबा’शब्द अवर्णनीय छ बुझेँ सन्तानका खातिर ।।”
    
दुलहीमा राष्ट्रप्रतिको माया र राष्ट्रियताको महिमा गान गरिएका राष्ट्रध्वजा र सपना, माटाको महिमा, विदीर्ण दशगजा आदि कविता छन् भने कवि, कविता, साहित्य आदिको चर्चा गरिएका स्रष्टाको मन, कविताको जीवन, साहित्यको जीवन आदि छन्।

वैतडी जिल्लाको पाटन नगरपालिका– २ मा जन्मनुभएका कवि पाण्डेयका गजलका फाँकीहरू(संयुक्त गजलसङ्ग्रह, २०६३), आगमन(गजलसङ्ग्रह,२०७२), छन्द र अलङ्कारः सिद्धान्त र प्रयागे(सह–लेखन,२०७२), व्यवहारिक नेपाली(२०७४), दर्जनौँ अनुसन्धानमूलक लेख–रचना प्रकाशित भइसकेका छन्।
    
पाण्डेयले नेपाल विद्याभूषण‘ख’(२०६३), लेखनाथ प्रतिभा पुरस्कार(२०६४), मकबुल अहमद लारी स्वर्णपदक (२०६४), नरेन्द्र वाङ्मय निधि पुरस्कार (२०६५), प्रथम इनास पुरस्कार (२०७२), शेषनाथ लामिछाने पुरस्कार (२०७२), महाकाली गजल पुरस्कार (२०७२), मोतीराम सेतुराम गजल पुरस्कार (२०७२), बाबा ओमवीरसिंह बस्न्यात पुरस्कार (२०७४), देवकान्त पन्त युवा पुरस्कार(२०७८) लगायतका पुरस्कार तथा सम्मान पाइसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×