काठमाडौँ - फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज युवा स्टार डिफेन्डर नुनो मेन्डिसलाई क्लबमा अनुबन्ध गरेको छ।
पिएसजीले लेफ्ट ब्याक नुनोलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ३४ मिलियन पाउन्डमा ४ वर्षको लागि अनुबन्ध गरेको हो। उनी २०२६ सम्म पिएसजीमा रहनेछन्।
नुनो गत सिजनको अगस्टमा लोनमै पिएसजीमा आएका थिए। राम्रो प्रभाव जमाएपछि उनलाई क्लबले स्थायी खेलाडी बनाएको हो। गत सिजन लोनमा भित्र्याउने क्रममा स्थायी खेलाडी बनाउने विकल्प रहेको थियो।
पिएसजीका लागि गत सिजन ३७ खेल खेल्दा आफ्नो प्रभाव छाड्न सफल भएपछि पिएसजीले उनलाई क्लबमै राख्न राजी भएको हो। लिग वानको टिम अफ दि इयरमा परेको पिएसजीको चार खेलाडी मध्ये उनी पनि एक हुन्। १९ वर्षीय नुनोले पोर्चुगलका लागि १३ क्याप जितेका छन्।