काठमाडौं । एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका डा भीमबहादुर रावलले १४औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्यानल नरहेको बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताएका हुन् ।
सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै उनले आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको बताए ।
जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।
एमालेको विधान महाधिवेशनबाटै प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने निर्णय भएकाले आफ्नो एक्लो उम्मेदवारी रहेको रावलले स्पष्ट पारे । प्रत्येक व्यक्तिले व्यक्तिगतरुपमा चुनाव लड्ने तय भएको जिकिर गर्दै उनले आफ्नो कसैसँग कुनै पदमा कुनै सहमति नभएको प्रष्ट पारे । यसबारेमा कसैसँग कुरा पनि नभएको उनको भनाइ थियो ।
एमाले उपाध्यक्ष रावलको उम्मेदवारी घोषणापछि आगामी महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने केपी शर्मा ओलीको योजनामा धक्का लागेको छ । तर एमालेकै केही नेताहरुले भने रावलको उम्मेदवारीको कुनै अर्थ नरहेको बताएका छन् ।