कैलाली - कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ। खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ।
विभिन्न भ्रम र अफवाहका कारण कैलालीमा अहिलेसम्म २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएको तथ्याङ्क छ।
कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई ज्वरो आउने, सुई लगाएको ठाउँमा धेरै दुख्ने,आलस्यता लाग्नेजस्ता समस्या आउँछ भनेको सुनेर बुस्टर डोज लगाउन हिच्किचाइरहेको टीकापुरकी निर्मला चौधरीले बताइन्। 'डोज लगाएकाहरूसँग कुरा गर्दा समस्या हुन्छ भन्न थाले, त्यसैले मैले त अहिलेसम्म लगाएको छैन, खोप लगाउने समय गुज्रिसकेको छ, गाह्रो हुन्छ भनेर बुस्टर डोज लगाइनँ।' उनले भनिन्।
कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिले बुस्टर डोज लगाउने गर्छन्। सरकारले १२ वर्षमाथिका सबै नागरिकलाई खोप अनिवार्य लगाउन आग्रह गरेको छ। खोपबारे भ्रम र अफवाह फैलिँदा नलगाएको टीकापुरकी रीमा चौधरीले बताइन्। 'पहिलो र दोस्रो मात्रा लगाएँ, बुस्टर डोज लगाएकी छैन' उनले भनिन्।
कैलालीमा अहिलेसम्म ८१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् भने २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन्।