झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन्।
हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ। सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेट्टिएको थियो। पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए। प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी धरान–४ धरान-भेडेटार सडकखण्डको जङ्गलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको प्रहरीले बताएको छ। योजनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिए।
गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो। त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले हत्यामा संलग्न मृतककै कान्छी श्रीमती अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो। सिग्देलकी जेठी श्रीमतीको बयानका आधारमा प्रहरीले अनिता र सरोजलाई पक्राउ गर्न सफल भएको हो। दुवैजनाले सिग्देलको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।