सोनाम ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं- सरकारले आज देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’बापत प्राप्त हुने १ सय ५० बिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि जानकारी दिएका छन्।

प्रवक्ता कार्कीले नेपाल टेलिभिजनको अध्यक्षमा ४ वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिएका छन्। सरकारले नेपाल खुला विश्वविद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद् बैठकले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय पनि गरेको छ।

शिक्षक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रियाअघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भएको छ भने सफा हिमाल अभियान २०२० मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटी बापतको रकम छुट दिने निर्णय पनि गरेको छ।

सरकारले तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइनका लागि जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, मालपोत कार्यालय र नापी कार्यालय सिमरा बाराको कार्यक्षेत्रमा पर्ने साविक गाविस बुनियाद, रामपुर कोटनी तथा लिपनीमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय कलैयाको कार्यक्षेत्रमा समावेश गर्ने र मालपोत कार्यालय र नापी कार्यालय चितवनको कार्यक्षेत्रभित्र पर्ने साविक हाजिपुर गाविसलाई मालपोत कार्यालय र नापी कार्यालय खैरहनीको कार्यक्षेत्रमा समावेश गर्ने निर्णय पनि गरेको छ। आजको राजधानीदैनिकमा छापिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×