काठमाडौँ - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुने जनाएको छ। हिजो भएको छलफलमा पुस २६ गतेदेखि लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ।
यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाँले वृद्धि गरेको छ। एन्फाले अब लिगको तयारीका लागि ‘ए’ डिभिजनका हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ। क्लबको तयारी खर्च बढाए पनि पुरस्कार रकम यथावत् रहेको छ।
लिगको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।