काठमाडौं - काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृह भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ को समापन भएको छ । समारोहमा उप–प्रमुख डंगोलले उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरिन ।
सो अवसरमा समारोहलाई सम्बोधन गर्दै उप–प्रमुख डंगोलले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको साथसाथै सडक प्रयोगकर्ताको पनि उत्तिकै जिम्मेवारी र दायित्व रहेकोले सबैले सचेत भएर आफ्नो भूमिका र कर्तव्य पूरा गर्नुपर्ने बताईन । काठमाडौं महानगरपालिकाले यातायातलाई विशेष प्राथिमकताको रुपमा राखेको उल्लेख गर्दै महानगरपालिकालाई सुरक्षित सहर बनाउनका लागि ट्राफिक सँगैसगै रोड सेफ्टीका विषयहरूलाई महत्व दिई सचेतना कार्यक्रम गर्दै आएको र महानगरपालिकालाई थप प्रविधिमैत्री बनाउँदै लैजान सिसिटिभी जडान, सडक वत्ती र धुलोरहित सडकका लागि विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरी काम गर्दै आएको उनले बताईन ।
समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उत्कृष्ट चालक, सह–चालक एवम् उत्कृष्ट महानगर प्रहरी बलका कर्मचारीलाई प्रशंसापत्र प्रदान गरे । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आमनागरिकमा सडक सुरक्षाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गर्न ट्राफिक सप्ताह सफल भएको विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत आमनागरिक एवं अन्य सरोकारवाला निकायबाट सुझाव र सहयोग प्राप्त हुने अपेक्षा रहेको बताए ।
सो अवसरमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई प्रशंसापत्र प्रदान गर्दै ट्राफिक व्यवस्थापन सम्बद्ध निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै जानुपर्ने बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर तथा वरिष्ठ कलाकार मनोज गजुरेलले सडक सुरक्षा बारेमा आ–आफ्नो धारणासहितको मन्तव्य व्यक्त गरेका थिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा यातायात व्यवस्था बिभागका महानिर्देशक उद्धब प्रसाद रिजाल, सडक बिभागका महानिर्देशक सुशिलबाबु ढकाल, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका कार्यकारी निर्देशक ई. कुबेर नेपाली, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरू, यातयात व्यवसायिहरु, संचारकर्मी लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अवधिभरमा गरिएको विभिन्न कार्यक्रमहरूको सन्दर्भमा रहेर तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई काम गर्न तथा सडक सभ्यता अभिवृद्धि गर्ने उद्देश्यले यही असोज १४ गतेदेखि १९ गतेसम्म विभिन्न ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन भएको थियो ।