काठमाडौँ - कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा वडा कार्यालय भवन निर्माण गरिएको छ।
जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँपालिकाको साझेदारीमा रु. ९९ लाख ९० हजारको लागतमा उक्त दुई तले भवन निर्माण गरिएको हो। भवन निर्माणमा जिल्ला समन्वय समितिको रु. ५९ लाख ९४ हजार तथा गाउँपालिकाको रु. ३९ लाख ९६ हजार लगानी रहेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए। यसअघि, गाउँपालिकाका आठवटै वडा कार्यालयमा आफ्नै भवनबाट सेवा सञ्चालन गरिँदै आएको छ। कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी र गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले संयुक्तरुपमा उद्घाटन गरेका छन्। भवन निर्माणका लागि स्थानीयवासी आइबहादुर तामाङ र श्रीकुमारी तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। गाउँपालिकाको पनि प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटनमा १० रोपनी क्षेत्रफलमा रु. ६ करोड ६२ लाखको लागतमा भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए।