काठमाडौँ । कृषि क्षेत्रमा बन्दै गएको रसायनिक निर्भरता र कीटनाशकको अत्यधिक प्रयोगले ग्रामीण क्षेत्रमा क्यान्सरका समस्या तीव्र रूपमा बढिरहेको चिकित्सकहरूले बताएका छन्। रक्त तथा क्यान्सर विशेषज्ञ डा. अजयकुमार झाका अनुसार गाउँ र शहरमा क्यान्सरको दर लगभग उस्तै छ, तर ग्रामीण क्षेत्रमा विषादीको प्रयोग धेरै भएकाले त्यहाँका किसान बढी प्रभावित हुने गरेका छन्।
डा. झाले किसानकै अनुभवलाई उद्धृत गर्दै भने, “पहिले दुई पटक स्प्रे गर्थ्यौं, अहिले ७–८ पटक कीटनाशक छर्कनु पर्छ, नत्र बाली हुँदैन,” — जसले दीर्घकालीन रूपमा शरीरमा विषाक्त पदार्थ जम्मा गराउँदै क्यान्सरको जोखिम बढाउँछ।
वायु प्रदूषण, विषादीयुक्त खाना, शारीरिक निष्क्रियता र आधुनिक जीवनशैलीले दीर्घ रोगहरूका केस पनि बढेको उनले बताए।
उनका अनुसार, क्यान्सर पहिले नदेखिनुको कारण केवल परीक्षणको अभाव मात्र थिएन, वास्तवमै रोग नै बढिरहेको छ।
डा. झाका अनुसार तरकारी तथा माछा पालन गर्ने क्षेत्रमा क्यान्सरका केस उल्लेख्य छन्।
फर्मालिन प्रयोग, रासायनिक मल, कीटनाशक, तथा विषादीयुक्त खानेकुराले गाउँ–शहर दुवैमा समान जोखिम पैदा गरेको छ।
नेपालमा क्यान्सरको उपचारका लागि आवश्यक सुविधा र मेसिन भए पनि विशेषज्ञ जनशक्ति अभाव, कमजोर रेफरल सिस्टम, ढिलो निदान र अक्षम व्यवस्थापनका कारण धेरै बिरामी भारत जान बाध्य छन्।
सरकारी अस्पतालहरूमा रिपोर्ट आउन २५–३० दिन लाग्ने, जबकि ४८ घण्टामै सकिने परीक्षण पनि ढिलो हुने गरेको उनले बताए।
डा. झाले क्यान्सर रोकथामलाई नै मूल उपाय बताउँदै सरकारलाई यी कदम लिन आग्रह गरेः
विषादीको प्रयोगमा कडा निगरानी
जैविक खेती प्रवर्द्धन
खाद्य सुरक्षा परीक्षण अनिवार्य
सुर्ती–मदिरामा कडा नियन्त्रण वा उच्च कर
प्रत्येक वडामा व्यायामका पूर्वाधार
विद्यालयदेखि स्वास्थ्य शिक्षा
डिजिटल रेफरल सिस्टम
गाउँ–गाउँमा स्क्रिनिङ र सचेतना
उनका अनुसार, खाना सुरक्षित, जीवनशैली सक्रिय र वातावरण शुद्ध भए ७०–८०% दीर्घ रोग आफैँ घट्छन्।