पाल्पा। लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो। व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताए। लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुईवटा पुर्याउनै पर्नेछ। किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताए। तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ र हेफर परियोजनाको सहयोग भैँसीपालनका क्षेत्रमा सहयोग गरिएको हो। चालु आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाभित्रका किसानलाई १०० लैनो भैँसी थप गर्ने योजना छ। सोहीअनुसार ६९ लैनो भँैसी थप गर्ने किसानलाई रु २९ लाख अनुदान वितरण गरिएको हो। तानसेन नगरपालिकाको चौवनबारी, पदमटारी र बन्दीपोखरा क्षेत्रमा व्यावसायिकरूपमा दूध उत्पादन गर्न भैँसीपालन कार्यक्रमलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए। तानसेन नगरपालिका–७ र १३ नं वडामा लैनो भैँसीपालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ। यो कार्यक्रममा सहभागी हुने किसानलाई स्थानीय सरकारले घाँस तथा प्राविधिक सहयोग गरिएको जनाएको छ। किसानले उत्पादित दूध बजारसम्म पुर्याउन चाहिने सामान सहयोग गर्ने योजना रहेको निर्देशक कार्कीले जानकारी दिए।