काठमाडौँ। सेफ्स एशोसिएशन अफ नेपालले राष्ट्रिय सेफ दिवसका अवसरमा ‘खाना महोत्सव’ गर्ने भएको छ। ‘खानामा शुद्धता तथा स्वास्थ्यमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ एशोसिएशनले आगामी यही वैशाख २२ गते बिहीबार सेफ्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्यालय सामाखुशीमा खाना महोत्सव आयोजना गर्न लागेको हो।
एशोसिएशनका अध्यक्ष श्याम लामाले राष्ट्रिय सेफ दिवसका अवसर पारेर नेपाली मौलिक खानाका साथै जातीय खानालाई पस्कन लागेको जानकारी दिए। उनका अनुसार महोत्सवमा नेपाली मौलिक खानाका साथै नेवारी तथा चौधरी खाना र इलामको चिया राखिनेछ।
नेपाली खानाको प्रवद्र्धन गर्दै आएको सेफ्स एशोसिएशन नेपालले सोही दिन आफ्नो २८औँ स्थापना दिवसको अवसर पारेर अग्रज एवं वरिष्ठ सेफहरूलाई समेत सम्मान गर्ने भएको छ। स्थापना दिवसकै अवसर पारेर सेफ्स एशोसिएशन अफ नेपालले खाद्य स्वच्छता र ऐन–नियमबारे पाँचदिने निःशुल्क कक्षा सञ्चालन गरेको अध्यक्ष लामाले बताए।
विसं २०५३ वैशाख २२ गते स्थापना भएको एशोसिएशनमा हाल देशभर एक हजार ४८५ सदस्य आवद्ध छन्। उक्त एशोसिएशनले हाल चितवन र पोखरामा समेत आफ्नो शाखा स्थापना गरेर नेपाली परम्परागत मौलिक खानालाई पस्कँदै आएको छ।