काठमाडौँ - फ्रान्स र बेल्जियम महिला युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइसल्याण्डसँग १-१ गोलको बराबरी खेलेपनि फ्रान्स अन्तिम आठमा पुगेको हो।
फ्रान्सले खेल शुरू भएको १ मिनेटमै मेल्भिन मालार्डको गोलबाट अग्रता बनाएको थियो। तर आइसल्याण्डले अन्तिम समयको इञ्जुरी समयमा गोल फर्काउन सफल भयो।
डोंगीले इञ्जुरी समयको अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेकी थिइन्। फ्रान्स ३ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा पुगेको हो। आइसल्याण्ड तेस्रो स्थानमा रहेको छ। सेमिफाइनल प्रवेशका लागि फ्रान्सले समूह सी को उपविजेता नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
यही समूहको अर्को खेलमा बेल्जियमले इटालीमाथि १-० को जित निकाल्दै अन्तिम आठमा पुगेको छ। बेल्जियमको जितमा ४९औं मिनेटमा डी केग्नीले गरेको गोल नै निर्णायक गोल बन्यो। दोस्रो स्थानको बेल्जियमले ३ खेलबाट ४ अंक जोडेको छ। क्वार्टरफाइनलमा बेल्जियमले समूह सी को विजेता स्विडेनको सामना गर्नेछ। यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।