दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बभन्दा बढीको सेयर कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.६६ अंकले घट्दै ०.४० प्रतिशतको गिरावटसहित २६१५.०३ विन्दुमा बन्द भएको छ।

नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार कारोबार रकम बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यस दिन ३२९ कम्पनीका १ करोड १२ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

कारोबारमा आएका कम्पनीहरूमध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ। दुई कम्पनीको मूल्य स्थिर रहेको छ। स्वस्तीक लघुवित्त र एसवाइ प्यानलको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई क्रमशः ३,०९७ रुपैयाँ १० पैसा र ६२२ रुपैयाँ ६० पैसामा पुगेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य पनि ९.५६ प्रतिशतले बढेको छ।

घट्ने कम्पनीतर्फ बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेर ४६५ रुपैयाँमा झरेको छ। सोही कम्पनीको सेयरमा सर्वाधिक कारोबार हुँदै २४ करोड ७२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। दोस्रो बढी कारोबार हुने कम्पनी राधी विद्युत रहेको छ।

समूहगत परिसूचकतर्फ १३ मध्ये तीन समूह बढेका छन् भने १० समूह घटेका छन्। वित्त समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले घटेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×