काठमाडौँ - इंग्लिस प्रिमियर लिग अन्तर्गत फुलह्याम र एस्टन भिल्लाले जित हात पारेका छन्। शुक्रबार राति भएको खेलमा फुलह्यामले नटिङ्घम फरेष्टलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
फुलह्यामको जितमा टोसिन आडारोवियो, जोअवो पाल्हिन्हा र ह्यारिसन रिडले १-१ गोल गरेका थिए। फरेस्टका लागि टाइवो अवोनिया र लेविस ओ’ब्रायनले १-१ गोल गरेका थिए।
टाइवो अवोनियाले ११ औँ मिनेटमा गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए। तर फुलह्यामका टोसिन आडारोवियोले ५४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
जोअवो पाल्हिन्हाले ५७ औँ मिनेटमा गोल गर्दै फुलह्यामलाई २-१ को अग्रता दिलाए। ह्यारिसन रिडले ६० औँ मिनेटमा फुलह्यामका लागि अर्को गोल थपेका थिए। फरेस्टका लागि लेविस ओ’ब्रायनले ७७ औँ मिनेटमा १ गोल थपेपनि पराजयबाट जोगाउन सकेनन्।
यता जाकोब राम्सेको १ मात्र गोलमा एस्टन भिल्लाले साउथ्याम्पटनलाई १-० ले पराजित गरेको हो।