काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ।
सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहजरुपमा यातायातको साधन सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले टाइम कार्ड लागू गरेको हो। गण्डकी प्रदेशको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समय तालिका लागू गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए।
उनका अनुसार २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिनेछ। महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा बिस्तार एवं स्तरोन्नति गर्नका लागि समय तालिका जारी गरिएको हो। सडक निर्माणकै क्रममा आवतजावत गर्न दिँदा दुर्घटनाको जोखिमसमेत भएकाले बन्द अवधिलाई छोट्याउने गरी काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
सडक बन्द हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लामा आवतजावतमा समस्या हुनेछ।