काठमाडौँ - वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५र७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो।
आव २०७५/७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकामम ३५ प्रतिशत दक्ष रहेको पाइएको छ। आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको सङ्ख्या पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) रहेको छ।
यो सङ्ख्या हेर्दा आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा १९ प्रतिशत बढेको देखिन्छ। दुई वर्षको तथ्याङ्कबाट पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि गर्छ।
यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना (४७ प्रतिशत) दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन्।
विभागका अनुसार आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामध्ये अर्धदक्ष भएर जानेको सङ्ख्या ६० हजार ५५५ जना (आठ प्रतिशत) रहेको छ भने अदक्षको सङ्ख्या दुई लाख दुई हजार ६१६ जना (२६ प्रतिशत) रहेको छ। यस्तै सो अवधिमा उच्च सिपयुक्त ९ इन्जिनियर, चिकित्सक, व्यवस्थापक० मा काम गर्न जानेको सङ्ख्या एक हजार ४१० जना ९दुई प्रतिशत० रहेको छ।
आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएकामा अर्धदक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ५४ हजार ३२८ जना (नौ प्रतिशत) रहेको छ भने सो अवधिमा अदक्ष दुई लाख ४३ हजार ६८ जना (४५ प्रतिशत) ले श्रम स्वीकृति लिएर गएका थिए।
सरकारले रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सिपयुक्त प्रमाणपत्रका आधारमा पठाउने भनेको छ। सिपलाई अनिवार्य गर्न नसके पनि सिप लिएर विदेश जानेको सङ्ख्या क्रमशः बढेको छ।
गोरखापत्र दैनिकबाट