काठमाडौँ - सरकारले क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ। कानूनी मान्यता नपाएको क्रिप्टोकरेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाएको हो।
अर्थमन्त्री जनार्दन शर्माले बिहीवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटको अर्ध वार्षिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो संकेत गरेका हुन्। उनले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने बताएका छन्।
अर्थमन्त्रीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गरी भइरहेका क्रिप्टो, हाइपर फन्ड, अनलाइन गेमिङलगायत अवैध कारोबार चुनौतीका रूपमा आएको छ। यिनको प्रभावकारी नियमन र अनुगमन गरी वैदेशिक मुद्रा विचलन हुनबाट रोक्न कडाइ गरिनेछ।’
यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकलगायत निकायसँग सहकार्य र आवश्यक अनुसन्धान गरिएको उनको भनाइ छ। ‘नयाँ सूचना प्रविधिको विकास मानवका लागि आफैमा एक उपलब्धि हो। तर, हाइपर फन्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सी लगायत विषय नकारात्मक रूपमा आएका छन्। हाम्रो कानून एकातिर छ, अर्कातिर तिनको कारोबार भइरहेको छ।
विभिन्न प्रविधिका माध्यमबाट आज ‘क्यापिटल फ्लाई’ भइरहेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसलाई कसरी नियमन र नियन्त्रण गर्ने भनेर हामीले विभिन्न कमिटी निर्माण गरेका छौं। राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त समूह पनि बनाएर अनुसन्धान प्रारम्भ गरिएको छ। त्यसमा पनि हाम्रो ध्यान केन्द्रित भएको छ।’ आर्थिक अभियान दैनिकबाट