काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।
शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाएका हुन्।
गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरहेका छन्। पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ।
गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन्।