काठमाडौँ - नेपाली राष्टिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्बली फरवर्ड सावित्रा भण्डारी (साम्बा) भारतीय महिला लिग च्याम्पियन टोली गोकुलम केरला एफसीमा अनुबन्ध भएकी छिन्।
गोकुलमबाट यो पटक सावित्राले एफसी क्लब च्याम्पियनसिपको छनोट, स्टेट लिग र भारतीय लिग खेल्नेछिन्।
गोकुलममा आवद्ध भएपछि साम्बा भन्छिन्, ‘चोटपछि पुनरागमन गरेको छु, तर अझै सोचे जस्तो गर्न सकेको छैन। गोकुलम पहिला च्याम्पियन टोली हो, यो पटक पनि फेरि सहभागी हुन पाउँदा खुसी लागेको छ। आफूले सकेको राम्रो गरेर क्लबलाई च्यम्पियन बनाउन सहयोग गर्नेछु।’
भारतमा प्रशिक्षण सहभागी हुन बोलाइसकेको तर अहिले नेपालमा नै प्रशिक्षणमा रहेकाले आफ्नो प्राथमिकता नेपाली टोली नै हुने उनले बताइन्। साविक विजेता गोकुलममा सावित्रा लगातार दोस्रो पटक अनुबन्ध भएकी हुन्।
आई लिगको १ सिजन सेथु एफसी र गोकुलममा आवद्ध हुँदा सावित्राले दुवै क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। सावित्रा कै उत्कृष्ट प्रर्दशनमा गोकुलमले पहिलो पटक आईलिगको उपाधि उचालेको थियो।
१ छनोटसहित लिग चरणका सबै खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी सावित्राले ८ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बनेकी थिइन्। सेथुलाई उपाधि दिलाउन सावित्राले १५ गोल गरेकी थिइन्।