काठमाडौँ - लामो समय विरोध र विवादको सामना गरेको नेपाली क्रिकेटले शनिबार अन्ततः खुसीको खबर सुन्न पाएको छ। खबर हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) को कामबाट सन्तुष्ट छ।
नतिजा अब क्यानले अब स्वतन्त्रपूर्वक खर्च गर्न पाउने । यसको अर्थ के पनि हो भने नेपाली क्रिकेटमाथि आईसीसीले लगाउँदै आएको निलम्बनको लगभग अन्तिम तगारो पनि फुकुवा भएको छ।
आईसीसीले क्यानमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएपछि स्वतन्त्र रूपमा खर्च गर्न पाउने भएको हो। आईसीसीका प्रतिनिधि नेपाली मिडियालाई यही समाचार सुनाउन शनिबार अन्तरक्रियामा सहभागी भएका थिए। कार्यक्रममा आईसीसीका डेभलपमेन्ट चेयरम्यान इमरान ख्वाजाले भने, ‘अब आईसीसी फन्डमा नियन्त्रण हुने छैन। क्यानले स्वतन्त्रपूर्वक खर्च गर्न पाउँनेछ। त्यसका लागि क्यानले विश्वासिलो वातावरण भने बनाउनुपर् ।’ त्यसको संकेत हो, क्यानमाथि आईसीसीको सूक्ष्म नजर भने हट्ने छैन।
कार्यक्रममा आईसीसीका डेभलेपमेन्ट जनरल म्यानेजर विलियम्स ग्लेनराइटले क्यानको कामबाट आफूहरू सन्तुष्ट रहेको दोहोर्याए। उनले नेपालमा क्रिकेटको सम्भावना प्रचुर रहेको बताउँदै आफ्नो क्षमताअनुसार अगाडि बढ्ने हो भने नेपाल माथिल्लो दर्जाको एसोसिएट राष्ट्र हुने पनि बताए।
त्यसको जवाफमा क्यानका अध्यक्ष चतुरबहानुर चन्दले ‘कन्ट्रोल फन्डिङ’ हटाउन आईसीसी प्रतिनिधिले खेलेको भूमिकाप्रति प्रशंसा गरे। उनले नयाँ घटनाक्रमबाट सन्तुष्टि मिलेको सुनाए। उनले भने, ‘आईसीसीले निलम्बन फुकुवा गरेपछि खर्चमाथि पनि नियन्त्रण गरिरहेको थियो। त्यसक्रममा हामीले आईसीसीका सर्तहरू पालना गर्यौं। एसोसिएट टिमका रूपमा नेपालले पालना गर्नुपर्ने सबै काम गरेपछि कन्ट्रोल फन्डिङ हटेको हो।’उनले थपे, ‘यसबाट नेपाली क्रिकेटमा विकासका लागि थप उर्जा प्राप्त भएको छ। अब क्यानले आफैं स्वतन्त्र भएर काम गर्न सक्ने स्थिति आएको छ।’
कन्ट्रोल फन्डिङ लामो समयदेखि थियो। ‘हामी अडिट प्रतिवेदन पठाउँथ्यौं र त्यसमा सुधार गर्नुपर्ने हुन्थ्यो।‘हामीले स्पष्ट अडिट प्रतिवेदन पठाएपछि आईसीसीले खर्चमाथि नियन्त्रण फुकुवा गरेको हो,’ उनले भने।
राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिताको अभाव देखाउँदै सन् २०१६ को अप्रिलमा आईसीसीले नेपालमाथि निलम्बनको निर्णय गरेको थियो। यस अवधिमा नेपाली क्रिकेट टिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीको क्रम भने टुटेन। नेपाली क्रिकेटले पछिल्लो समय गरेको कामबाट आईसीसी प्रभावित रहेपछि निलम्बनको स्थिति सुधारतर्फ उन्मुख भएको हो।
आईसीसी प्रतिनिधिले शनिबार नै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग पनि भेट गरेको थियो। त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र क्यान अध्यक्ष चन्दसँगै ख्वाजा, ग्लेनराइट र आईसीसी फाइनान्स एन्ड अपरेसन अफिसर नितिशा कोठारीको पनि उपस्थिति थियो मन्त्री गहतराजले नेपाल सरकार क्रिकेट विकासमा केन्द्रित रहेको बताए। उनले सरकारले क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउँदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको जानकारी गराए।
सदस्य–सचिव घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास निर्माणमा सहकार्य गर्नुपर्नेमा आवश्यकता औंल्याए।