विकासका कारण नासिए सम्पदा र घुमाउने घर

गलेश्वर। विगत एक दशकयता धौलागिरि क्षेत्रमा सडक विस्तार र भौतिक पूर्वाधार निमार्णले जनतालाई सुविधा दिलाएको छ तर विकासकै कारण कैयौं सम्पदा मासिनाका साथै कतिपय रैथाने सीप र पुख्र्यौली विराशत पनि नासिएर गएका छन्। धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका अधिकांश ठाउँ छुटृै मौलिकता र प्राकृतिक सुन्दरताले युक्त छन्। यी चार जिल्लाका एक दुई ठाउँबाहेक प्रायः सबै स्थानीय तहमा सडकको पहुँच पुगेपछि ऐतिहासिक, धार्मिक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएका सम्पदा भने नासिने क्रम तीव्र रुपमा बढेको छ। पदमार्गको नामोनिसान छैन ।

जताततै मोटर गुड्न थालेपछि पैदल यात्रुको थकाइ मेटाउने चौतारी तथा बिसाउनी नासिएका छन्। कुवा, धारो र पँधेरा देखिन छोडेका छन् भने पर्यावरणीय दृष्टिकोणले समेत उपयुक्त मानिएका र लागत कम लाग्ने घुमाउने घर पनि विस्थापित भएका छन्। केहीवर्ष अगाडिसम्म म्याग्दीको ज्यामरुककोट र अर्मन, बागलुङको ढोरपाटन, ढिकीचौर, बलेवालगायत विभिन्न स्थानमा थुप्रै सङ्ख्यामा ढुङ्गा र माटोले बनाएका र चेप्टा ढुङ्गा वा खरले छाएका घुमाउने घर देखिन्थे। रातो र सेतो कमेरोले पोतिएका घर गाउँभरी देख्न पाइन्थे। झ्यालढोकाका काठमा कलात्मकशैलीमा बनाइएका विभिन्न आकृतिले धेरैलाई आकर्षण गथ्र्यो तर अहिले ती घर लोप हुँदै गएका छन्। यस्ता घर ग्रामीण भेगमा बढी देख्न सकिन्थ्यो। पछिल्लो समय यस्ता मौलिक घर देख्न मुस्किल पर्न थालेको छ। मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोपहुँदै गएका छन्।

परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर सङ्कटमा पारेको म्याग्दीका चन्द्रबहादुर कार्कीले बताए। केहीवर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घर भए पनि अहिले एक/दुई वटा पनि भेट्याउन मस्किल छ उनले भने। “पहिले त गाउँभरी घुमाउने घर देख्न सकिन्थ्यो, अहिले त सबै भत्किए, बुढा पुरानाले संरक्षण गरेर राखेका थिए पहिले त, अहिलेका पुस्ताले यस्तो घर मन नपराउने र पक्की घर रोज्ने हुँदा घुमाउने घर लोप भए,” कार्कीले भने,“‘यस्ता घर संरक्षण गर्नसके हाम्रो मौलिक संस्कृति बच्ने थियो होला, बुढा पुराना मरेपछि त त्यस्ता घर पनि भत्किएर सकिए।”आफू पनि घुमाउने घरमै जन्मे हुर्केको हुँ भन्दै उनले पछिल्लो समय गाउँमा भएका एक/दुईवटा त्यस्ता घर पनि जीर्ण भइसेको छ भने। त्यस्ता घरलाई संरक्षण गर्न सके बाहिरी पर्यटकको रोजाइँमा पर्नसक्थ्यो भन्दै गाउँमा जीर्ण अवस्थामा रहेका यस्ता घर संरक्षणमा स्थानीयवासी लाग्नुपर्नेमा सरोकार व्यक्तिले बताए। “घुमाउने घर त हाम्रो संस्कार, संस्कृति र पहिचानसँग जोडिएको छ, अहिले गाउँमा धेरै त्यस्ता घर त छैनन् तर पनि जति छन् त्यसको मर्मत सम्भार र संरक्षणमा हामीहरू लाग्नुपर्छ, घुमाउने घर त पर्यटकको रोजाइँमा पनि पर्ने गरेकाले पनि यसको संरक्षण जरुरी छ, अहिलेका मान्छेले घुमाउने घर कस्तो हुन्छ भन्ने पनि थाहा पाउँदैनन् गाउँमा सबै फरक शैलीमा निर्माण भएका घर छन्। घुमाउने घरप्रति आकर्षण घट्यो घुमाउने घरको भित्र अँध्यारो हुनाका साथै धेरै कोठा नहुने र वर्षैपिच्छे छानो छाउन पनि झण्झट हुने भएकाले यसकोे आकर्षण घट्दै गएको हो। त्यसो त ग्रामीण क्षेत्रमा समेत आधुनिक सुविधा सम्पन्न घर बनाउने चलन बढेकाले परम्परागत घर लोपहुँदै गएको पाइन्छ।

केही वर्षअघिसम्म म्याग्दीका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एकाध मात्र देखिन्छ। हरेक गाउँका बासिन्दा सहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले आधुनिक घर बन्न थालेका हुन्। केही वर्षअघिसम्म गाउँमा अधिकांश घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन्। घुमाउने घर बस्न न्यानो र स्वास्थ्यको दृष्टिले लाभदायक हुने भए पनि पछिल्लो समयमा धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएकाले त्यस्ता घर लोप हुँदै गएको बेनी नगरपालिका–२ ज्यामरुककोटका बृद्ध रणबहादुर कार्कीले बताए। ‘‘सयवर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा नल्याइएकाले जीर्ण भइसकेका छन्” उनले भने। मानिसले उज्याला, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोपहुँदै गएको मङ्गला गाउँपालिका–४ का हरिकृष्ण पौडेलले बताए। जस्तापाता सुलभरूपमा पाइने र एक पटक छाएपछि बीसौँ वर्ष रहने हुनाले यसको प्रयोग व्यापक हुनाका साथै पुराना घर उपयोगविहीन हुन थालेको उनको भनाइ थियो। ‘‘दुई दशकअघिसम्म म्याग्दीका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए। अहिले औँलामा गन्न सकिने मात्र छन्,” बगरफाँटका बृद्ध बेदप्रसाद उपाध्यायले भने। सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×