काठमाडौँ - फरवार्ड नेयमार जुनियरले ब्राजिलका लिजेण्ड पेलेले राष्ट्रिय टोलीका लागि राखेको ७७ गोलको ‘आधिकारिक’ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन्।
फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाविरुद्धको क्वाटरफाइनलमा १ गोल गरेसँगै उनले पेलेकाे कीर्तिमानलाई बराबरी गरेका हुन्। विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यो कीर्तिमानलाई मान्यता दिएपनि ब्राजिल फुटबल महासंघ र पेलेले ९५ गोल गरेको दाबी छ।
फिफाले २ राष्ट्रबीचको खेल मात्रै गणना गर्छ र पेलेका केही गोलहरू क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा रहेको बताइएको छ। नेयमारले १२४ खेल खेल्दै ७७ अन्तर्राष्ट्रिय गोल गरेर पेलेको कीर्तिमान बराबरी गरेका हुन्।
८२ वर्षीय पेलेले १९५७ देखि १९७१ सम्म ९२ खेलमा ७७ गोल गरेका थिए। ब्राजिलबाट सन् १९५८, १९६२ र १९७० मा तीनवटा विश्वकप जितेका पेले हाल साओ पाउलोको अस्पतालमा उपचाररत छन्।
अतिरिक्त समयमा लम्बिएको खेलमा नेयमारकै गोलमा ब्राजिलले अग्रता लिएको थियो। तर, त्यो अग्रता ब्राजिलले जोगाउन सकेन। टाइब्रेकरमा ब्राजिल ४-२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ।
३० वर्षीय नेयमारले १० अगस्ट २०१० मा अमेरिकाविरुद्ध डेब्यु गर्दै डेब्युमै गोल गर्न सफल भएका थिए। उनले ८ गोल विश्वकपमा गरेका छन्। २०१४ मा ४, २०१८ र यसपाली गरी समान दुई गरी ४ गोल गरेका छन्। ५ गोल कोपा अमेरिकामा गरेका छन्।
नेयमारले २०१३ मा कन्फेडेरेसन कप जिते। उनले विश्वकप र कोपा अमेरिका कप जित्न सकेका छैन। टोकियो ओलम्पिकमा ब्राजिलको टोलीबाट उपाधि जितेका उनी २०१९ मा ब्राजिलले कोपा जित्दा उनी घाइते थिए। २०२१ मा उपविजेता हुँदा उनी टोलीका सदस्य थिए।
नेमारको गोल समग्र ब्राजिलको कीर्तिमान होइन, मार्टाले सन् २००२ देखि महिला टोलीका लागि ११५ गोल गरेकी छिन्।