एजेन्सी - इङ्ल्यान्डका ब्याट्सम्यान जेसन रोयले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट नाम फिर्ता लिएका छन्। बायो बबलका कारण उनले आफ्नो नाम फिर्ता लिएका हुन्। रोयलाई गुजरात टाइटन्सले २ करोड मा अनुबन्ध भएका गरेको थियो। रोय भर्खरै पाकिस्तान सुपर लिग सकाएर आराम गरिरहेका छन्।
३१ वर्षीय रोयले केवल छ खेल खेले तर प्रतियोगितामा शीर्ष ब्याट्सम्यान मध्ये एक र क्वेटा ग्लाडिएटर्सका लागि शीर्ष स्कोरर थिए। उनले दुई अर्धशतक र एक शतक सहित ५०.५० को औसत र १७०.२२ को स्ट्राइक रेटमा ३०३ रन बनाए।
गत हप्ता आफ्नो निर्णयको बारेमा फ्रान्चाइजीलाई समेत उनले जानकारी गराएका थिए। टाइटन्सले उनको स्थानमा अर्को खेलाडी छनोट गर्ने छ।लिलामीमा बिक्री भएपछि रोयले आईपीएल नखेल्ने निर्णय गरेको यो लगातार दोस्रो पटक हो। २०२० मा दिल्ली क्यापिटल्सले उनलाई १.५ करोडको आधार मूल्यमा किनेको थियो, तर व्यक्तिगत कारणले उनी प्रतियोगिताबाट बाहिरिए।
यस पटकको आईपीएल १० टोलीबीच खेलाइने छ र लिग स्तरका खेलहरू मुम्बई र पुणेमा हुनेछन्।