काठमाडौँ - फिल्म निर्देशक सुदर्शन थापा र रंग पत्रकार सुजन श्रेष्ठबीचको विवाद प्रहरीमा पुगेर मिलेको छ। गौशालामा प्रहरी वृत्तमा दुबैपक्षको छलफलबाट विवाद सुल्झिएको हो।
नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच केही घण्टाको छलफलपछि विवाद मिलेको हो।
निर्देशक थापाले गल्ती स्विकारेर आत्मालोचना गर्दै गल्ती नदोहोर्याउने भनेपछि विवाद सहमतिमा टुङ्गिएको नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीले बताएका छन्।
थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले बक्स अफिसमा गरेको व्यापारको विषयमा पत्रकार श्रेष्ठले केही दिनअघि लेखेको समाचारलाई लिएर दुबैबीच तनाव उत्पन्न भएको थियो।
समाचारको विषयलाई लिएर निर्देशक थापाले श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएका थिए। उक्त धम्कीको अडियोसहित पत्रकार श्रेष्ठले बिहीबार प्रहरी वृत्त गौसालमा थापाविरुद्ध गाली बेइज्जती र धम्की दिएको भन्दै उजुरी दिएका थिए।