काठमाडौं - कमेडी क्लब विथ च्याम्पियनको दोस्रो भाग टेलिभिजनमा प्रसारण नहुँदै विवादमा परेको छ।
गायक दुर्गेशले आफूमाथि गरिएको व्यंग्यलाई लिएर आपत्ति जनाएपछि निर्माण पक्षले कार्यक्रमको प्रोमो नै युट्यूबाट हटायो।
प्रसारित प्रोमोमा उक्त कार्यक्रमका कमेडीयन सजन श्रेष्ठले दुर्गेशको पोस्टरसमेत देखाएर उनको मजाक उडाएका थिए। पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो।
प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु। उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा…। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन। साथी हानिकारक हुन्छ।’
दुर्गेशले कार्यक्रमको निर्माण पक्षसँग यसमा आपत्ति जनाउँदै कानूनी प्रक्रियामा जान सक्ने चेतावनी दिएका थिए।
दुर्गेशले प्रोमो नहटाएमा कानूनी प्रक्रियामा जाने सन्देश पनि दिएका थिए। त्यसपछि निर्माण पक्षले प्रोमो हटाएको हो। पूरा कार्यक्रममा पनि दुर्गेशको सो दृश्य हटाइने जानकारी प्राप्त भएको छ।
कमेडी विथ च्याम्पियन अध्यक्षको भूमिकामा रहेकी दिपाश्री निरौलाले अदालतमा विचाराधीन विषय भएको हुँदा अनावश्यक विवाद नआओस् भनेर प्रोमो हटाइएको र कार्यक्रमबाट पनि सो भाग काटेर प्रसारण गरिने बताएकी छिन्।
कमेडी विथ च्याम्पियनको दोस्रो भाग आज नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ।