काठमाडौँ - अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा नेदरल्याड्सले लगातार दोस्रो जित हात पारेको छ। उसले पहिलो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नामिबियालाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो।
१२२ रनको लक्ष्य नेदरल्याड्सले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि विक्रमजित सिंहले सर्वाधिक ३९ रनको योगदान दिएका थिए।
म्याक ओडोउड ३५ र बास डी लिडेले अविजित ३० रन जोडे। नामिबियाका लागि जजे स्मिथले २ तथा बेर्नार्ड स्कोल्ट्ज र जान फ्राइलिंकले १/१ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो।
त्यसअघि भिक्टोरियास्थित साइमन्ड्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनाएको थियो। उसका लागि जान फ्राइलिंकले सर्वाधिक ४३ रनको योगदान दिएका थिए। माइकल भान लिन्गेनले २०, स्टेफन बार्डले १९, कप्तान गेर्हार्ड इरास्मसले १६ र डेविड विसेले अविजित ११ रन जोडेका थिए।
नेदरल्याण्ड्सका लागि बास डि लिडेले २ तथा टीम प्रिन्गल, कोलिन अकरम्यान, टिम भान मेक्रेन र रोइलोफ भान डेर मेर्वेले १/१ विकेट हात पार्द १ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो।
यो जितसँगै २ खेलमा ४ अंक जोडेको नेदरल्यणड्स शीर्ष स्थानमा रहँदा पहिलो पराजय बेहोरेको नामिबिया समान खेलबाट २ अंकका साथ दोस्रो स्थानमा रहेको छ।