भारत। दक्षिण भारतीय अभिनेता पुनिथ राजकुमारको ४६ वर्षको उमेरमा गत वर्षको अक्टोबरमा निधन भएको हो। हृदयाघात भएपछि उनलाई बेङ्गलुरुको विक्रम अस्पताल लगिएको थियो। केहि समयपछी चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सन् १९७६ मा चलचित्र ‘प्रेमडा कनिके’बाट उनले सिने जगतमा पाइला राखेका थिए। सन् २०२१ मा प्रदर्शनमा आएको चलचित्र ‘युवरथना’पछी उनको अन्तिम चलचित्र ‘जेम्स’ आउँदो मार्चमा प्रदर्शनमा आउँदैछ।
निर्माण पक्षले उनको जन्मोत्सव अर्थात् १७ मार्चमा चलचित्र अल इन्डिया रिलिज गर्ने तयारी गरिरहेका छन्। चेतन कुमारको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जेस्म’ कर्नाटकमा एक हप्ता एक्लै प्रदर्शन हुनेछ।
भारतीय सञ्चारमाध्यमका अनुसार पुनिथलाई श्रद्धाञ्जली स्वरूप १७ देखि २४ मार्चसम्म कर्नाटकमा उनको मात्र चलचित्र प्रदर्शन गरिनेछ। अनु प्रभाकर, श्रीकान्त, आर शरथकुमार, तिलक शेकर मुकेश ऋषि आदि कलाकारहरुको अभिनय रहेको चलचित्र बहुभाषामा प्रदर्शनमा आउनेछ।