पारलैंगिक कथावस्तुको फिल्म ‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

काठमाडौँ - ट्रान्सजेन्डर अर्थात् पारलैंगिक व्यक्तिको कथावस्तुमाथि फिल्म ‘गुलाबी’ निर्माण हुने भएको छ। समुन्द्र भट्टले निर्देशन तथा निर्माण गर्ने फिल्मको मुख्य भूमिकामा नाजिर हुसेन अनुबन्धित भएका छन्।

निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच अनुबन्धन सम्झौतामा हस्ताक्षर भएको छ। नाजिरले पारलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको जोडीको खोजी भइरहेको छ।

‘समाजमा तेस्रो लिंगी समुदायलाई हेर्र्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्ने सन्देश दिन फिल्म निर्देशन गर्न लागेकी हुँ,’ चलचित्र निर्देशक समाजकी कोषाध्यक्ष समेत रहेकी भट्टले भनिन्, ‘उनीहरुलाई मानवीय रुपमा व्यवहार गर्नु जरुरी छ।’

भदौ २१ गतेदेखि छायांकन सुरु हुने फिल्मको लागि नाजिर बाहेकका अन्य कलाकारको अडिसन सुरु हुँदैछ। अर्को एक प्रमुख भूमिकामा विशाल पहारी पनि अनुबन्धित भइसकेका छन्।

चरित्र निर्माणका लागि नाजिरले १५ किलो तौल घटाउँदैछन्। उनी १ महिनादेखि यही चरित्रको लागि तौल घटाइरहेका छन्। युवतीजस्तो कम्मर बनाउन उनले प्रयास गरिरहेको निर्देशक भट्टले जानकारी दिइन्। नाजिरले तौल घटाएर ५० किलो बनाउनुपर्नेछ।

फिल्मको पटकथा पनि नाजिर र निर्देशक भट्टले मिलेर लेखेका हुन्। ८ वर्षअघि ‘आधापेज’ निर्देशन गरेकी भट्ट यही फिल्मबाट पुनरागमनको तयारीमा छिन्।

पछिल्लो समय नेपालमा पारलैंगिक समुदायमाथि फिल्म निर्माण हुने क्रम बढेको छ। सन् २०१२ मा सुवर्ण थापा निर्देशित ‘सुनगाभा : डान्स अफ द अर्किड्स’ मुलुकको पहिलो एलजीबीटीआई फिल्म थियो। सन् २०१९ को अगस्टमा नवल नेपाल निर्देशित अर्को पारलैंगिक फिल्म ‘मारुनी’ पनि प्रदर्शन भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×