व्यासको गौ संरक्षण केन्द्र अनुसन्धानस्थल बन्दै

तनहुँ । तनहुँको व्यास नगरपालिका-१० मादी नदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थल बनाइने भएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिने लगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो ।

केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशु चौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र त्यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । केन्द्रका कतिपय गाई ब्याएर दूधसमेत दिन थालेको छ । केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थलको रुपमा विकास गर्नको लागि नगरपालिकाको बैठकमा कुरा उठान भएकाले प्रक्रिया अघि बढाउन लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

गाईको मलमूत्रबाट के के बन्न सक्छ, कस्ता कस्ता औषधि बन्न सक्छन् र अर्गानिक अन्नबालीमा कत्तिको लाभदायिक हुन्छन् भन्ने विषयमा अध्ययन अनुसन्धान गरिनेछ । स्थानीय जातको गाईको संरक्षण गर्दै धार्मिक र पौराणिक मान्यताअनुसार पुरोहित राखेर अनुसन्धान कार्य अघि बढाउन लागिएको उनले बताए । नगरपालिका क्षेत्रको कुहिने फोहोर र गाईबस्तुको मलमूत्र संकलन गरी केन्द्रमा निर्माण गरिएको करिब ६० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट ग्याँस उत्पादन वृद्धि भएको छ ।

छाडा पशुपालन केन्द्रमा कुँडो पकाएर मात्रै ग्यास खपत हुन नसकेपछि सोही स्थान नजिक रहेको कोभिड व्यवस्थापन अस्पताल र पीसीआर प्रयोगशालामा ग्यास प्रयोग गर्ने तयारी गरिएको छ । अस्पतालमा खाना पकाउन, तातोपानी तताउन, सिरिन्ज सफा गर्ने लगायतका कार्यमा प्रयोग गर्न लागिएको वडाध्यक्ष सापकोटाले बताए ।

उक्त प्लान्ट नगरपालिकाको सात लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सात लाख गरी कूल १४ लाखमा निर्माण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×