पर्वत - नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन्।
झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ। पुलको व्यवस्थाले वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएको छ। पर्वतका चार पालिकामध्ये कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक र पैँयू गाउँपालिकामा छवटा पुल निर्माण भएका हुन्। गत आर्थिक वर्षमा कुश्मामा निर्माण भएका पुलमध्ये वडानं–२को खुर्कोटस्थित खहरे खोला झोलङ्गे पुल, वडा नं ९को कटुवाचौपारीमा चिन्नेखोला झोलुङगे पुल र वडा नं ३को दुर्लुङमा बडहरेघाट झोलुङ्गे पुल रहेका छन्।
त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेमा भुरुङदीखोला लाङ्घाली झोलुङ्गे पुल र वडा नं ७ मा जहरेखोला झोलुङ्गे पुल निर्माण भएका छन्। यसैगरी महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा थापाथर झोलुङ्गे पुल निर्माण भएको छ भने वडा नं ३ बालाकोटमा गङ्गाधर गुफा झोलुङ्गे पुल निर्माण भएको पुल निर्माणकर्ता खुर्कोट युवा क्लबले जनाएको छ। यसैगरी विहादी गाउँपालिका–६ शालिग्राममा सेतीवेनी स्टिल ट्रस निर्माण गरिएको छ। यता पैन्यू गाउँपालिका–५ मा डुडेघाट झोलङ्गे पुल, वडा नं ५ मै काभ्रा भञ्ज्याङ स्टिल ट्रस, पैँयू वडा नं ४ हुवासमा चिसापनी स्टिल ट्रस, वडा नं ७ मा अर्थुन–बेउलीवास झोलुङ्गे पुल, वडा नं ६ मा कटुवाघाट झोलुङ्गे पुल निर्माण भएका छन्।
त्यसैगरी घाङ्गरे झोलङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको क्लबले जनाएको छ। निर्माण भएका झोलुङ्गे पुलमध्ये आठवटा इन्प्रेड नेपालको सहजीकरण र बाँकी खुर्कोट युवा क्लबको सहजीकरणमा निर्माण भएका हुन्। निर्माण भएका १४ वटा झोलुङ्गे पुल श्रमदानसहित रु ४ करोड ८१ लाख ८ हजार ३५५को लागनीमा सम्पन्न भएको उक्त क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार उपभोक्ता समितिले रु नौ लाख ६२ हजार बराबरको श्रमदान गरेकामा उक्त क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका थिए। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम ९एसडब्लुएपी० को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र दुई प्रतिशत श्रमदानमा पुल निर्माण भएको अधिकृत शर्माले बताए।