काठमाडौँ - स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन्।
३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन् । पिकेले बिहीबार राति लगभग ३ मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने निर्णय लिएका थिए। बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ। ‘मैले सधै भनेको छु। बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन्।
पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुवात गरेका थिए। यसपछि म्यानचेस्टर पुगेका थिए। सन् २००७-२००८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए।
यस क्रममा उनले ६ सय खेल खेल्दै ३० ट्रफि जितिसकेका छन्। जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे समेत समावेश छ। पिकेले स्पेनबाट १०२ खेल खेलेका छन्। सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए।